शशिको अतिकोमल ..

Sri App

शशिको अतिकोमल 

शशिको अतिकोमल कान्ति सरी ।
हरिको मुरली मन लिन्छ हरी ॥

यमुना तटका हरिया लहरा । 
भ्रमरा चटका रमणीय चरा ॥ शशिको...

वनमा हरि पालनु भो सँगमा ।
लिई दाज्यू र बालक गाई तहाँ ॥ शशिको...

नवमेघ समान छ कान्ति निलो । 
परिपूर्ण छ ब्रह्म सनातनको ॥ शशिको...

मुरलीस्वर कृष्ण बजाउछन ।
स्वरली सब सुन्दरी गाउँछन ॥ शशिको... 

मृग सिंह परस्पर मित्र छन । 
घनघोर मनोहर चित्र छन ॥ शशिको...

हरिणी करिणी चरनै तजने ।
दिल एक गरी मुरली सुनने ॥ शशिको... 

मधु जङ्गलका नव जन्तु चरा । 
मुरलीस्वरमै परि मग्न वरा ! ॥ शशिको...

चहकी चहकी सब घुम्दछन ।
मधुरो मुरली स्वर सुन्दछन ॥ शशिको... 

चिडीया सब छाड़ी निज बचरा | 
मुरली तिर मग्न भए बिचरा ! ॥ शशिको...

मुरली मुखली फुकनु घनन ।
स्वरले सब जंगल भो रतन ॥ शशिको...

घनघोर भयो घनघोर भयो । 
मुरली स्वरमै सब चित्त गयो ॥ शशिको....

मुरली स्वरकै स्वर शब्द सुनी ।
सब सुन्दरी ताहीं पुगे दगुरी ॥ शशिको... 

सुन साथी ! अली चल लौन छिटो । 
मनमोहकको मुरली छ मिठो ॥ शशिको... 

मन दी हरिमा सब ती बनिता ।
जब ताँत छुटो तब भो रमिता ॥ शशिको... 

कतिका त फुके कबरी शिरका ।
 कतिका त फुके कमरी पटुका ॥ शशिको....

कतिका करधानि भए खुकुला | 
कटिवस्त्र फुकेर भए मुकुला ॥ शशिको...

विपरीत लगाई लुगा कतिले ।
कतिले न लगाई लिएर हिडे ॥ शशिको...

कतिले उलटा गहना पहिरे ।
उलटै कुलट पुलटै दगुरे ॥ शशिको... 

कति खान पकाउन चट्ट तजी । 
दगुरे युवती हरि मै मन दी ॥ शशिको...

कति हड़बडिदै कति लट्पटिदै ।
म अघि म अघि भनि झट्पटिदै ॥ शशिको... 

जति शब्द उती पद चल्दछन । 
छमछम छमछम् गरि घुम्दछन ॥ शशिको...

जति सुन्दरी गोपकुमारी थिए । 
मनमोहन कृष्ण उती. बनिए ॥ शशिको...     ॐ

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top